धेरैले भन्छन्, जीन्दगीको सबैभन्दा सुखद समय बाल्यकाल भनेर । यो सत्य पनि हो । आमाबुवाकै खटनमा रहनुपरेपनि स्वतन्त्रता कहिल्यै नछिनिने अनि साना साना इच्छा आकांक्षा जुन पुरा नभएपनि कुनै गुनासो गर्ने र पीर गर्नुपर्ने कारण नै हुदैन्थ्यो । न त जिम्मेवारीको बोझ न त कुनै पीर चिन्ता ।
उमेर बढेसँगै जिम्मेवारी, कर्तव्य, पीर, चिन्ता अनि इच्छा आकांक्षाको पनि पालुवा पलाउँदै जाने । जति उमेर बढ्यो त्यति नै यसका हाँगा विँगा कलमी गरेको बिरुवा भन्दा पनि सप्रिने । पढाइ, काम, घरपरिवारको जिम्मेवारी, यता दौड, उता दौड समय नै कहाँ छ र ? साथीभाइ, परिवार र इष्टमित्रका लागि हामीलाई एक पल छुट्याउन नसक्ने भयौ । यो अनन्त र कहिल्यै नसकिने भागदौडबाट हामी कहाँ पुगिरहेका छौ, कसैलाई थाहा छैन ।
यी भागदौड र प्रतिस्पर्धाका लागि हामीले आफ्नो सामाजिकरण र आत्मीयता तथा मानवताको भावनालाई भने धेरै पछाडि छोडेको भान हुन थालेको छ ।
................
भर्खरै अफिस पुगेकी थिए दिदीको फोन आयो । तिम्रो साथी थ्यो नी मिकेश ?? उसको बारेमा थाहा पार्यौ ?? उसको त डेथ भएछ नि ।। म झसंग भए । पत्याउनै सकिन । हतपत अर्को साथीलाई फोन गरे .. समाचार सहि थियो । मोटरसाइकल दुर्घटनामा परेर उसको ज्यान गएछ ।
...........
मैले पढेको विद्यालयमा अहिले पनि प्राथमिक कक्षासम्म सहशिक्षा छ भने त्यसपछि छात्राहरुलाई मात्र पढाइन्छ । प्राथमिक तहको विद्यालयको पहिलो व्याच भएकोले केटाहरु पढ्ने विद्यालय तयार नभएसम्मका लागि ६ जना केटाहरु ६ कक्षादेखि ७ कक्षाको मध्य परिक्षासम्मसँगै पढेका थियौ । मिकेश तिनै छ जना केटामध्ये एक । केटाहरुमा सबैभन्दा होचो, चन्चल अनि उसको पढाइ औसत नेै थियो होला सायद । त्यतिबेला कसैको पढाइ कस्तो थियो भनेर तुलना गर्न सक्ने क्षमता नै कहाँ हुनु र ? त्यसपछि हाम्रो भेट एकैचोटी एसएलसीमा भयो । पढ्ने विद्यालय फरक भएपनि परिक्षा भने एकै ठाउँबाट दिनुपर्ने । करिब ४ वर्षको अन्तरालमा सेन्ट अप परिक्षा र त्यसपछि एसएलसीको तयारीका लागि हामीलाई फेरि सँगै पढाइन थालियो । उनीहरु धेरै सहयोगी थिए, हामीलाई त्यतिबेला बास्केटबल र टेबुलटेनिस खेल्न सिकाउने उनीहरु नै थिए । यसका बदलामा उनीहरुलाई हामीले खाजा खुवाउनुपथ्र्यो । एसएलसी सकियो अनि ती बाल्यकालका साथीसँगको भेट पातलीन थाल्यो, कतिसँग त त्यहीबेलादेखि नै भेट नि भको छैन । सामाजिक संजाल पनि हुन्थेन भने त यी सम्पर्कमा रहेका साथीहरु कहाँ हराउथे, अनि आफू कहाँ ??
.............
पहिलो पटक उसको घर जाँदै थियौ । ५ वर्षअघि एउटा साथीको विहेमा भेट भएपछि मिकेशसँग न त फोनमा कुरा भएको थियो न त फेसबुकमा नै । यसपटक उसको घरमै गएपनि भेट हुने छैन भनेर मन भारी थियो । यो जीन्दगीको भागदौडको यात्रा टुंगाउँदै ऊ हामी सबैबाट टाढा भैसकेको थियो । उसको परिवारलाई भेट्न जाने बारे केहि साथीलाई फोन त केहिलाई फेसबुकबाट म्यासेज गरे । ती मध्ये धेरैले पारिवारिक समस्या त केहिको कामको व्यस्तताका कारण आउन नपाउने बताए । उफ .. यहाँ पनि व्यस्तताले जित्यो मानवीय भावनालाई ।। बाचुन्जेल एक पटक फोन गरेर कुरा गर्न र हालखबर सोध्न, भेटघाट गर्न फुर्सद नहुने हामीजस्तालाई मरेपछि भने औपचारिकता पुरा गर्नुपर्ने... छिः आफैप्रति घृणा जाग्यो ।
बल्ल बल्ल ४ जना साथी जम्मा भयौ । मिकेशको घर जाँदै गर्दा प्रश्न उठ्यो कि हामी यसरी नै अन्तिमपटक कहाँ कहिले एकैचोटी भेटेका थियौ भनेर । यो सम्झना भयानक थियो । अन्तिम पटक पनि हामी म्याथ र साइन्स पढाउने कृष्ण सरको मृत्यु हुँदा श्रद्धान्जली दिन सँगै गएका थियौ ।
मनमा प्रश्न उब्जिरह्यो, के हामी साथीहरुलाई भेट्ने अवसर जुर्न कसैको मृत्यु वा दुर्घटनानै कुर्नुपर्ने अवस्था आएको हो ?? हामीमा सामाजिकरण, मानवीयताको भावना र करुणा साँच्चै हराउँदै गएको हो ??
लागिरहेछ, प्रतिस्पर्धी यो जमानामा अघि बढ्न हामी यसरी कुदेकाछौ कि गन्तव्य पुगेपछि फर्केर हेर्दा प्रतिफल केबल शुन्यता मात्र हुनेछ ।
Its really heart touching and bitter reality of so-called busy life............We are gaining lots of experience and prestige in life but fails to garb the the moment of past. Really we are loosing.................
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteखै आज भोली हामी मान्छेमा साच्चै मानवियता भन्ने कुरा हराउदै गै रहेको छ । यो रहर नभएर बाध्यता पनि बनेको छ । सबै बाध्यताको साङ्लोमा बाधिएका छौ । हामिलाई आफन्त, साथिभाइ कसै सँग एक छिन कुरा गर्ने फुर्सद छैन । त्यसैले त भन्छौ म busy छु । पछी कुरा गरौला । अनि साथिभाइ, आफ्न्त सबै भन्छन फलाना त आजभोलि साह्रै change भएछ । भेट हुन, कुरा गर्न पनि मान्दैन । सधै व्यस्त । . अनि के हामी सच्चै साथीहरुलाई भेट्ने अवसर जुर्न कसैको मृत्यु वा दुर्घटनानै कुर्नुपर्ने अवस्था आएको हो ?? सायद हामी यही बाध्यताको साङ्लोले बाधिएका छौ ।
ReplyDelete