Read more: https://www.zealmat.com/2016/10/show-post-title-on-homepage.html#ixzz6XL8JDsy3 मेरो ब्लग: September 2020

Monday, September 7, 2020

वैदेशिक सहयोग प्राप्तिका लागि आन्तरिक प्रणालीमा रहेका अस्पष्टता

 वैदेशिक सहयोग प्राप्तिका लागि आन्तरिक प्रणालीमा रहेका अस्पष्टतासम्बन्धी अध्ययन–विश्लेषण यस प्रकार छन्ः

(यो सामाग्री हिमाल खबर पत्रिकामा नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक शेर सिंह भाटले तयार पार्नुभएको हो । )

(क) राष्ट्रिय आवश्यकता र प्राथमिकताको जाँच गर्ने मापदण्ड, संयन्त्र र विधि के हो ?

नेपालको संविधान, २०७२ को धारा ५१ (घ) ११ मा ‘वैदेशिक सहायता लिंदा राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई आधार बनाउँदै यसलाई पारदर्शी बनाउने र वैदेशिक सहायताबाट प्राप्त रकम राष्ट्रिय बजेटमा समावेश गर्ने’ उल्लेख छ। तर, संविधानको यो भावना बोक्ने गरी वैदेशिक सहयोग प्रयोजनका निम्ति राष्ट्रको आवश्यकता र प्राथमिकता क्रम प्रष्ट्याउने कानूनी संरचना (ऐन, नियमावली र कार्यविधि), संयन्त्र र संस्थागत संरचना हालसम्म बनेको छैन।

यसैले संविधानको यस धारा अनुसार संघीय अर्थ मन्त्रालयको सक्रियतामा ऐन, नियमावली र कार्यविधि सहितको कानून बनाएर क्रमशः संघीय संसद्, मन्त्रिपरिषद् र मन्त्रालयबाट पारित गराउनुपर्छ। उक्त कानूनी व्यवस्थापछि राष्ट्रिय योजना आयोगले सम्बन्धित विषयगत मन्त्रालयहरुसँगको समन्वयमा विकास लक्ष्यमा आधारित आन्तरिक र अन्तरदेशीय कनेक्टिभिटी (सडक, रेलमार्ग, हवाई मार्ग, विद्युत् प्रसारण, दूरसंचार आदि), विद्युत्, स्वास्थ्य, उद्योग, शिक्षा आदि क्षेत्रका आयोजनाको सूची राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा तयार पार्नुपर्छ।

तिनै आयोजनामध्येबाट आन्तरिक स्रोत परिचालन हुने तथा बाह्य स्रोत खोजिनुपर्ने आयोजना छुट्याएर वैदेशिक सहयोग सम्झौता गर्ने प्रावधानसहितको प्रणाली बनाउनुपर्छ। आयोजनाको सूची र वैदेशिक सहयोग मार्फत संचालन गर्न छुट्याइएका आयोजना सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्ने हो भने संविधानको उक्त धारामा उल्लिखित पारदर्शिताको विषय पनि सम्बोधन हुन्थ्यो।

(ख) संघले वैदेशिक सहयोग प्राप्त गर्न आफ्नो अधिकारको प्रयोग संविधान र संघीय कानून बमोजिम गर्न लागेको सुनिश्चित गर्ने संयन्त्र र विधि के हो ?

राज्य शक्तिको बाँडफाँटको विषयमा संविधानको धारा ५७ (१) मा ‘संघको अधिकार अनुसूची ५ मा उल्लिखित विषयमा निहित रहनेछ। त्यस्तो अधिकारको प्रयोग यो संविधान र संघीय कानून बमोजिम हुनेछ’ भन्ने उल्लेख छ। अनुसूची ५ मा संघको एकल अधिकारको विषय अन्तर्गत बुँदा नं. ५ मा ‘विदेशी अनुदान, सहयोग र ऋण’ पनि उल्लेख छ।

उक्त विषय संविधानमा त उल्लेख भयो, तर वैदेशिक सहयोग सम्झौताको मस्यौदा संविधान र संघीय कानून बमोजिम रहेको सुनिश्चित गर्ने कानूनी संरचना र संयन्त्र छैन।

संविधानको यो धारा अनुरुप ऐन, नियमावली र कार्यविधि जारी गरी त्यस मार्फत वैदेशिक सहयोग प्रस्ताव गर्ने राष्ट्र वा संस्थासँग सम्झौताको मस्यौदाका लागि संघीय अर्थ मन्त्रालय अन्तर्गतको कुन निकायले वार्ता गर्ने, सम्झौताको प्रारम्भिक मस्यौदा कसरी बनाउने र मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत गरेर हस्ताक्षर गर्ने अख्तियारी लिने लगायत विषय प्रष्ट हुने आन्तरिक प्रणाली बनाउनुपर्छ।

(ग) देशको समष्टिगत आर्थिक स्थायित्व हुने मापदण्ड के हो ?

संविधानको धारा ५९ (६) मा ‘वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुनेछ र त्यस्तो सहायता वा ऋण लिंदा देशको समष्टिगत आर्थिक स्थायित्व हुने गरी लिनुपर्नेछ’ भन्ने उल्लेख छ।

संविधानमा यो विषय उल्लेख भए पनि वैदेशिक सहयोग स्वीकार गर्दा सम्झौताको मस्यौदा निर्माण अघि त्यस्तो सहयोगबाट आर्थिक स्थायित्व हुने पाटो जाँच्ने मापदण्ड, विधि र संयन्त्र सहितको कानूनी संरचना बनेको छैन। यसर्थ संघीय अर्थ मन्त्रालयले यस धाराको सादृश्य कानूनलाई पूर्णता दिई देशको समष्टिगत आर्थिक स्थायित्व हुने उक्त मापदण्ड, विधि र प्रक्रिया तथा तदनुरुपको संयन्त्रको व्यवस्था गर्नुपर्छ। यस्तो प्रावधान खासगरी वैदेशिक ऋण लिंदा बढी सान्दर्भिक हुन्छ।

(घ) वैदेशिक सहयोग सम्झौताको विषयवस्तु स्वीकार्य हुने मापदण्ड के हो ?

कुनै पनि वैदेशिक सहयोग सम्झौतामा संविधानको मर्म प्रतिविम्बित हुने गरी कस्ता विषय समावेश गर्न मिल्छ र कस्ता विषय मिल्दैन, यो अर्को महत्वपूर्ण विषय हो। तर, विद्यमान कुनै ऐन, नियमावली र कार्यविधिमा यसबारे स्पष्ट रूपमा खुलाइएको छैन। यसै कारण कतिपय सम्झौतामा राज्यको निर्देशक सिद्धान्त, मूलभूत नीतिहरु र कानूनसँग मेल नखाने विषय पनि सम्झौताको शर्तको रुपमा समावेश हुन पुग्छन्।

असान्दर्भिक विषय वैदेशिक सहयोग सम्झौतामा पर्न जाँदा वैदेशिक सम्झौताको आवरणमा दीर्घकालीन प्रभावको रणनीतिक साझेदारी सम्झौता वा दुई देशबीचका साझेदारी सम्झौता पो हुन लागेको हो कि भन्ने संशय उत्पन्न हुन्छ। संविधानले परिकल्पना गरेको राज्य र समाजको दिशामा असर पार्न सक्ने विषय पनि प्रत्यक्ष–परोक्ष रुपमा सहयोग सम्झौतामा परेको देखिए सम्झौता विवादित भइ नै हाल्छ। वैदेशिक सहयोग सम्झौताको विषयवस्तु व्यक्तिविशेषको चाहनामा नभई त्यससम्बन्धी कानूनी आधारमा अडेको हुनुपर्छ।

यसर्थ वैदेशिक सहयोग सम्झौतामा (१) सहयोग रकम (२) सहयोग उपयोग हुने आयोजना (३) सहयोग निकासा विधि (४) आयोजनाको कार्यसम्पादन मापदण्ड र (५) ऋणको भुक्तानी (सहयोग यदि ऋणको रुपमा हो भने) लाई मात्र सम्झौताको विषयवस्तु बनाइनुपर्छ। यसमध्ये कार्यसम्पादन मापदण्ड अन्तर्गत सहयोग उपयोग हुने आयोजनाको (१) वातावरणीय र सामाजिक र सुरक्षा व्यवस्थापन (२) भौतिक प्रगति (३) आयोजना सम्बन्धी खरीद कार्यविधि (४) वित्तीय व्यवस्थापन र (५) समग्रमा आयोजना कार्यान्वयनको संस्थागत व्यवस्थापन सम्बन्धी विषयलाई समावेश गर्नुपर्छ। यस बाहेक अन्य कुनै पनि विषय वैदेशिक सहयोग सम्झौताको विषयवस्तु बनाउन नमिल्ने यस सम्बन्धी कानून मार्फत नै सुनिश्चित गरिनुपर्छ।

(ङ) सन्धि सम्झौतामा अन्तर्राष्ट्रिय कानून लागू हुने प्रावधान राख्ने मापदण्ड के हो ?


नेपाल सरकार वा मातहतका निकायहरुले कुनै दोस्रो पक्षसँग सम्झौता गर्दा देशको आन्तरिक कानून मात्र लागू हुने, विदेशका कानून लागू हुनसक्ने वा अन्तर्राष्ट्रिय कानून लागू हुनसक्छ भनेर हामीकहाँ स्पष्ट रूपमा मापदण्ड तोकिएको छैन। नेपालको आन्तरिक कानूनको सट्टा अन्य विदेशी वा अन्तर्राष्ट्रिय कानून लागू हुने प्रावधान राख्न पूर्वस्वीकृति कहाँबाट लिने भन्नेबारे ऐन, नियम र कार्यविधिमा कतै नखुलेको हुँदा एक प्रकारको अराजकता देखिन्छ।

त्यसैले यस सम्बन्धी कानूनी संरचना (ऐन, नियमावली र कार्यविधि) मार्फत कस्ता सम्झौतामा नेपालको आन्तरिक कानून मात्रै लागू हुन्छ, कस्ता सम्झौतामा अन्य देशको कानून वा अन्तर्राष्ट्रिय कानून लागू हुने प्रावधान राख्न मिल्छ, त्यस्तो प्रावधान राख्न कसबाट स्वीकृति लिनुपर्छ भनेर स्पष्ट खुलाइनुपर्छ। त्यस बमोजिम आन्तरिक कानूनको सट्टा अन्तर्राष्ट्रिय वा अन्य कुनै वैदेशिक कानून लागू हुने प्रावधान राख्न अधिकार प्राप्त अधिकारीबाट पूर्व स्वीकृति लिइसकेपछि सोही सम्झौता ‘आन्तरिक कानूनहरु भन्दा माथि हुनेछ’ भनी उल्लेख गरिराख्नु पर्दैन, त्यसले अनावश्यक विवाद मात्रै सिर्जना गर्छ।

वैदेशिक सहयोग सम्झौतामा अन्तर्राष्ट्रिय कानून लागू हुने स्पष्ट कानूनी आधारसहितको आन्तरिक प्रणाली नभए पनि एमसीसी सम्झौतामा अन्तर्राष्ट्रिय कानून लागू हुने उल्लेख भयो। तर सँगसँगै अर्को दफामा ‘सम्झौता नेपालका सबै आन्तरिक कानून भन्दा माथि हुने’ पनि उल्लेख भयो।

यहाँ बुझ्न जरुरी के छ भने, सम्झौताको व्याख्या गर्दा मात्र अन्तर्राष्ट्रिय कानून लागू हुने हो, सम्झौता अन्तर्गत संचालित आयोजना कार्यान्वयनमा होइन। तर, ‘सम्झौता नेपालका सबै आन्तरिक कानून भन्दा माथि हुने’ पनि उल्लेख भइदिंदा आयोजना कार्यान्वयनको क्रममा साबिकका वन तथा वातावरण सम्बन्धी ऐन, भूमि सम्बन्धी ऐन, श्रम सम्बन्धी ऐन आदि र सम्बन्धित नियमावली र कार्यविधि समेत निलम्बन हुने हुन् कि भन्ने संशय भयो र सम्झौता विवादित हुन पुग्यो।

तसर्थ यदि विद्यमान कानूनमा आधारित आन्तरिक प्रणालीले कुनै सम्झौतामा अन्तर्राष्ट्रिय कानून लागू हुने प्रावधान राख्न स्वीकृति दिन्छ भने ‘यस सम्झौतामा अन्तर्राष्ट्रिय कानून लागू हुनेछ, तर सम्झौता अन्तर्गत प्राप्त सहयोगले संचालित आयोजना कार्यान्वयन गर्दा यस सम्झौतामा उल्लेख भएका विषयमा सोही बमोजिम र बाँकी विषयमा नेपालको आन्तरिक कानून बमोजिम हुनेछ’ भन्ने स्पष्ट उल्लेख गरिनुपर्छ।

(च) सहयोग सम्झौतामा देशभित्र लाग्ने प्रत्यक्ष, अप्रत्यक्ष कर महशुल आदि पूर्व छूट दिने मापदण्ड के हो ?

अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु वा मित्रराष्ट्रहरुबाट प्राप्त हुने ऋण वा अनुदान सम्बन्धी सम्झौतामा प्रायः सम्झौता अन्तर्गत प्राप्त हुने रकमबाट संचालित हुने आयोजना कार्यान्वयनमा देशमा लाग्ने प्रत्यक्ष वा अप्रत्यक्ष कर महशुल आदि पूर्व छूट दिने प्रावधान राख्ने दाताको शर्त रहने गरेको छ र राख्ने गरिएको पनि छ।

नयाँ संविधानको मर्म बोक्ने तदनुसारको नयाँ ऐन, नियमावली र कार्यविधि बनाउने काम तदारुकताका साथ नहुँदा कानून अनुसार कर, महशुल छूटको प्रावधान पहिला रहने गरेको र हाल पनि त्यस्तै अवस्था छ। नयाँ संविधानको भावना अनुरुप कर महशुल छूटको प्रावधान सम्झौतामा राख्न मिल्ने वा नमिल्ने, मिल्ने भए कस्ता सम्झौतामा कुन–कुन कर महशुल पूर्व छूट दिन मिल्ने, नमिल्ने भए तिरेको कर महशुल सोध भर्नाको प्रावधान राख्न सकिने र यस सम्बन्धी अन्तिम अधिकार संघीय संसद्को भए पनि पूर्व छूटको प्रावधान मस्यौदामा राख्न कसको पूर्व स्वीकृति चाहिने लगायत विषय खुल्ने गरी नयाँ ऐन, नियमावली र कार्यविधि जारी गर्न अत्यावश्यक देखिन्छ।

कर महशुल छूट सम्बन्धमा नयाँ कानूनी आधारसहितको आन्तरिक प्रणाली अस्तित्वमा आइसकेपछि सो अनुसार छूट दिंदा विवाद आउँदैन। अन्यथा पूर्व छूट दिंदा नयाँ संविधान अनुसार संघीय संसद्को विशेष अधिकारको हनन ठहरिन सक्छ।

(छ) सम्झौताको संसदीय अनुमोदनको मापदण्ड के हो ?

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको धारा २७९ ले नेपाल राज्य वा नेपाल सरकार पक्ष हुने सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय कानून बमोजिम हुने व्यवस्था गरेको छ।

त्यसका लागि कानून बनाउँदा शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँट विषयका सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन स्वीकृति वा समर्थन संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले गर्नुपर्ने शर्त राखिने पनि उक्त धारामा उल्लेख छ।

संवैधानिक व्यवस्था अनुसार नेपाल सरकार वा नेपाल राज्य पक्ष हुने जुनसुकै प्रकृतिको पनि सम्झौतालाई संसदीय अनुमोदन नगरी त्यो कार्यान्वयनमा जान सक्दैन। तर, संविधानको यस्तो भावना बोक्ने नयाँ कानून निर्माण भइसकेको छैन।

सरसर्ती हेर्दा नयाँ संविधानले नेपाल सरकारले गरेका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँग गरेका ऋण सम्झौता पनि संसदीय अनुमोदन गर्नुपर्ने अवस्था सिर्जना गरेको छ, जुन व्यावहारिक देखिंदैन। तर पनि संविधानले राष्ट्रको समष्टिगत आर्थिक स्थायित्व हुने गरी मात्र ऋण लिनु भन्ने गरेको निर्देशनको प्रत्याभूति कसरी हुन्छ त ? त्यस्तै, नेपाल सरकार पक्ष हुने गरी बाह्य पक्षसँग गरिएका मात्रै नभई आन्तरिक पक्षसँग गरिएका सम्झौता पनि संसदीय अनुमोदन गर्नुपर्ने हो कि भन्ने आभास दिन्छ। तसर्थ नेपाल सरकार वा नेपाल राज्य पक्ष हुने गरी गरिएका सम्झौतामध्येः

(क) केकस्ता सम्झौता नामले सम्झौता भए पनि यथार्थमा करार हुन्, तिनको संसदीय अनुमोदन आवश्यक पर्दैन र त्यसको सट्टा संविधानको मर्ममा प्रतिकूल असर नपर्ने गरी संघीय मन्त्रिपरिषदको स्वीकृति अनिवार्य हुनुपर्छ ?

(ख) कस्ता सम्झौताको संसदीय अनुमोदन प्रतिनिधि सभाको तत्काल कायम रहेको सदस्य संख्याको साधारण बहुमतबाट गरिनुपर्छ?

(ग) कस्ता सम्झौताको अनुमोदन संसदका दुवै सदनको तत्काल कायम रहेको कूल सदस्य संख्याको साधारण बहुमतबाट गरिनुपर्छ?

(घ) कस्ता सम्झौता संसदका दुवै सदनको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित गरिनुपर्छ?

तथा हस्ताक्षर भइसकेको कुनै सम्झौता विशेषको संसदीय अनुमोदन सम्बन्धमा उपर्युक्त चारमध्ये कुन प्रक्रिया लागू हुने हो, त्यसको टुङ्गो लगाउने अधिकार संसद्को हो कि सरकारको हो र त्यो टुङ्गो लगाउने विधि र प्रक्रिया के हो सो समेत खुल्ने गरी नयाँ कानून यथाशीघ्र निर्माण हुनुपर्छ।

उपर्युक्त विश्लेषणको निष्कर्षको रुपमा कुनै विषयमा गरिने सन्धि सम्झौतासँग सम्बन्धित संविधानको प्रत्येक धाराको सादृश स्पष्ट कानून र संयन्त्र सहितको आन्तरिक प्रणाली निर्माण गरी संघीय सरकार अन्तर्गतका प्रत्येक मन्त्रालय, विभाग र निर्देशनालय, महाशाखा र शाखा र केन्द्र र इकाईले सम्पादन गर्ने कामका लागि आकृष्ट हुने ऐन, नियमावली, कार्यविधि र संयन्त्रसहितको हाते पुस्तिका तयार गरी प्रत्येक कर्मचारी र सेवाग्राहीले त्यसै अनुसार काम गर्ने परिपाटी बसाल्ने हो भने धेरै विवाद उठ्दै उठ्दैनन् र उठे पनि स्वतः समाधान हुन पुग्छन्।


यससम्बन्धी लेख हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Wednesday, September 2, 2020

संघीय इकाईबीचको अन्तरसम्बन्धमा देखिएका समस्या र समाधानका उपाय

 संघीय इकाईबीचको अन्तरसम्बन्धमा देखिएका समस्या

१.    संविधानको अनुसुची बमोजिम संघीय ईकाइहरुका अधिकारक्षेत्रमा दोहोरोपना रहेको छ । सरकारले कार्य विस्तृतीकरण प्रतिवेदन पारित गरेपनि मूल नीति र पूरक नीतिको अभावमा कुन नीति कसले मान्ने हो भन्ने विषयमा अन्यौल रहेको छ । संविधानको अनुसूची बमोजिम सही ठाउँमा अधिकार हस्तान्तरण नहुँदा नीतिगत अलमल रहेको ।

२.    प्रदेशको संरचनागत व्यवस्थामा स्पष्टता नभएको । संघले प्रदेशसँग समन्वय गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गर्ने तथा स्थानीय तहसँग समन्वय गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गर्ने हुँदा संघमै समन्वयको अभाव  रहेको ।

३.    प्रदेश तथा स्थानीय तहलाई संविधानद्वारा प्रदत्त अधिकारको कार्यान्वयनका लागि संरचना तथा जनशक्तिको अभाव रहेको ।

४.    संघले प्रदेश तथा स्थानीय तहमा तथा प्रदेशले स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना तथा कार्यक्रममा अपनत्व तथा दायित्वबोध नहुँदा वेवास्ता गर्ने प्रवृति ।

५.    प्रदेश र स्थानीय तहले आफूलाई स्वतन्त्र ठान्ने तर संघमाथिको आर्थिक निर्भरतामा भने हकदाबी गर्ने प्रवृतिले संघसँगको समन्वयमा समस्या ।

६.    योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकनलाई परिपूरक बनाउन सामूहिक भावना मुखरित हुन नसक्नु ।

७.    एक तहले बनाएको नीति, मापदण्ड तथा योजनाको अनुसरण तथा प्रोत्साहन गर्ने वातावरण नहुनु । स्थानीय तहमा एकांकी ढंगले अघि बढ्ने प्रवृति ।

८.    शासन व्यवस्थामा सुशासन कायम नहुँदा आर्थिक अनियमितता बढेर भ्रष्टाचार तथा बेरुजुमा वृद्धि हुनु 

९.    प्रदेश र स्थानीय तहको समस्या सम्बोधनमा संघ उदासीन बन्नु तथा प्रभावकारी संवाद, समन्वय र सहकार्यको न्युन अभ्यास

१०.    संघमा पहिलेदेखि चलिआएको कार्यक्रमहरुलाई निरन्तरता दिने मोह कायम छ भने प्रदेश तथा स्थानीय तहमा योजना तथा कार्यक्रम छनौट, तर्जुमा तथा कार्यान्वयका प्रकृयाको संरचनाको संस्थागत व्यवस्था हुन नसक्नु ।

११.    अन्तर तह सीमा कायम गर्ने, पारस्परिक समन्वय र सहअस्तित्वलाई स्वीकार गर्ने तथा संविधानद्वारा प्रदत्त अधिकारको सीमा भित्र रहने गरी संघीय ईकाइहरु स्वचालित हुन नसक्नु ।

१२.    संघीय ईकाइमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको राजनीतिक विचारधारा तथा व्यवहारमा बेमेल हुँदा सृजना हुने आपसी द्वन्द्वका कारण साना साना कामहरु गर्न पनि समस्या हुने ।

१३.    केही प्रदेश तथा स्थानीय तहमा आफ्नो उपलब्ध स्रोतको परिचालन नगरी महत्वकांक्षी लक्ष्य राखेर बाह्य विकास सहायता तथा ऋण लिने बढ्दो चाहना ।

१४.    संविधानको धारा २३५ बमोजिमको संघीय कानून नबन्दा प्रदेश कानून तथा स्थानीय तहको कानून बनाउन ढिलाई हुनु ।  

१५.    अन्तर सरकार राजस्व बाँडफाँड तथा रकम आदानप्रदानको व्यवस्था स्वचालित हुन नसक्नु ।

१६.    प्रत्येक तहको प्राथिमकता राष्ट्रिय प्राथमिकताका आधारमा नभइ फरक फरक रुपमा अघि बढ्नु ।

 

संघीय इकाईबीचको अन्तरसम्बन्धलाई प्रभावकारी बनाउने उपाय

१.  प्रत्येक तहबीचको अन्योन्याश्रित सम्बन्ध तथा अधिकारक्षेत्रको विषयमा प्रभावकारी संयोजन हुनुपर्ने ।

२.    प्रत्येक तहको भूमिका जिम्मेवारी र कर्तव्य निर्वाहमा समन्वयात्मक अभ्यास

३.  संघीय इकाइले संविधानद्वारा प्रदत्त अधिकार तथा नेपाल सरकारले स्वीकृत गरेको कार्य विस्तृतीकरण प्रतिवेदन बमोजिमका अधिकार लिने ।

४.    साझा अधिकारको बाँडफाँड र प्रयोग सन्निकटताको सिद्धान्तका आधारमा जिम्मेवारीको व्यवस्थापन गर्ने ।

५.    प्रत्येक तहका सरकारको तहगत जवाफदेही सुनिश्चित गर्ने ।

६.    राष्ट्रिय तथा प्रादेशिक नीति बनाउँदा नियन्त्रणात्मक नभइ पारस्परिक सहयोग समन्वय र सहजीकरण हुने गरी बनाउने ।

७.    संघीय ईकाइबीच प्राकृतिक तथा आर्थिक स्रोतको वितरण तथा सन्तुलित विकासको प्रयत्न गर्ने

८.    जिल्ला समन्वय समितिको भूमिका प्रष्ट पार्ने र ती भूमिका निर्वाहका लागि स्रोतसाधनको व्यवस्था गर्ने ।

९.    संघ तथा प्रदेशको कार्यक्रममा समावेश स्थानीय तहका योजना तथा कार्यक्रम छनौटमा स्थानीय तहको सहभागिता गराइ एकीकृत योजना तर्जुमा प्रकृया अबलम्बन गर्ने ।

१०.  अन्तर तह समन्वयका विषयमा नागरिक समाजका संगठन तथा बुद्धिजीवीसँग समेत राय सुझाव लिने व्यवस्था अबलम्बन गर्ने ।

११.अन्तर तह समन्वय संयन्त्रलाई प्रभावकारी बनाई तत्काल गुनासो सम्बोधन तथा समस्या समाधान गर्ने अवस्था सृजना गर्ने ।

१२. संघीयताको कार्यान्वयन सम्बन्धी व्यवस्थापनमा एकात्मक प्रणालीका विज्ञहरुको पहुँच दबाब प्रभाव र हाबी हुने प्रवृत्तिको अन्त्य गर्ने ।

१३.  एक तह मातहतका कार्यालयले अर्को तहको नीति मापदण्ड तथा योजना कार्यान्वयका लागि    समन्वयात्मक सहयोग गर्ने ।

१४.   तीनै तहबीच अन्तरसम्बन्ध व्यवस्थित गर्न वृहद समन्वय परिषद् र अन्य आवश्यक समिति र विशेष समिति, जिम्मवेवारी तथा कार्यप्रणाली किटान गरी संविधानको धारा २३५ अनुसार संघीय कानुन जारी गर्ने ।

संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध

राजनीतिक वा कार्यपालिकीय अन्तर सम्बन्ध

प्रदेश सभा र गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख रहने निर्णायक मण्डलबाट राष्ट्रिय सभाको सदस्यको निर्वाचन हुने ।

२.     संघ प्रदेश र स्थानीय तहबीच उत्पन्न हुने सक्ने विवाद समाधानका लागि प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषद्को व्यवस्था

३.     स्थानीय तहहरुबीच समन्वयका लागि प्रदेशको मुख्यमन्त्रीको अध्यक्षतामा अन्तर समन्वय परिषद्को व्यवस्था

४.     राष्ट्रपतिले प्रदेशको मन्त्रीपरिषद्लाई सचेत गराउन सक्ने, प्रदेशसभा वा मन्त्रीपरिषद् ६ महिनासम्म निलम्बन वा विघटन गर्न सक्ने ।

५.     संघले प्रदेश र स्थानीय तहलाई निर्देशन र सहयोग गर्न सक्ने र सोको पालना गर्नुपर्ने 

६.     सीमा हेरफेर र एकल अधिकार संशोधनको विषय बहुमत प्रदेशसभाबाट पारित हुनुपर्ने ।

७.     एक अर्को तहको अधिकारक्षेत्र तथा स्वायत्तामा बाधा पुर्याउन नहुने । एक अर्को तहको कानुनी व्यवस्था, न्यायिक तथा प्रशासनिक निर्णय तथा व्यवस्था कार्यान्वयनमा सहयोग गर्नु पर्ने ।

८.     एक प्रदेश र स्थानीय तहबाट अर्को प्रदेश तथा स्थानीय तहमा व्यक्तिको स्वतन्त्र आवागमनमा बाधा पुर्याउन नहुने, पेशा तथा व्यवसाय र वस्तु तथा सेवाको ढुवानीमा बाधा तथा भेदभाव गर्न नहुने ।

 

न्यायिक अन्तरसम्बन्ध

१.    आफ्नो अधिकार क्षेत्रभित्रको विवाद समाधानका लागि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था

२.    न्यायिक समितिबाट भएको निर्णय चित्त नबुझेमा सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सकिने ।

३.    संघीय ईकाइहरुबीच अधिकारका बारेमा विवाद भएमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट विवादको निरुपण गरिने । 

 

विधायिकी अन्तर सम्बन्ध

१.    संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयका लागि नेपाल सरकारले कानून बनाउन सक्ने ।

२.    नेपालभर वा आवश्यकता अनुसार नेपालको कुनै भूभागमा मात्र लागू हुने गरी नेपाल सरकारले कानून बनाउन सक्ने ।

३.    संघीय ईकाइहरुले आफ्नो साझा अधिकारको विषयमा कानून बनाउन सक्ने । तर स्थानीय तहको कानून संघ र प्रदेश कानूनसँग र प्रदेश कानून संघीय कानूनसँग बाँझिन नहुने र बाँझिएको हदसम्म बदर हुने ।

४.    दुईभन्दा बढी प्रदेशले आफ्नो एकल अधिकारका विषयमा कानून बनाउन अनुरोध गरेमा संघले त्यस्ता प्रदेशमा मात्र लागू हुने गरी कानून निर्माण गर्न सक्ने ।

५.    स्थानीय तहको संचालन सम्बन्धी व्यवस्था प्रदेश कानुन बमोजिम हुने (कर्मचारी, सभा संचालन र पारिश्रमिक सम्बन्धी विषय)

६.    प्रदेश सभा विघटन भएको अवस्थामा संघले कानून बनाउन सक्ने ।

७.    संघले प्रदेश र स्थानीय तहले बनाउने कानूनको नमूना उपलब्ध गराउन सक्ने ।

८.    प्रदेशले राजस्व सम्बन्धी कानून बनाउँदा समन्वय गर्नु पर्ने ।

 

प्रशासनिक अन्तरसम्बन्ध

१.    संघीय ईकाइबीच जिम्मेवारी, स्रोतसाधन तथा प्रशासनिक समन्वय गर्दै सुमधुर र सहयोगात्मक सम्बन्ध विकास तथा विस्तार गर्ने राज्यको नीति

२.    संक्रमणकालीन व्यवस्थापनका लागि नेपाल सरकारले सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा कानून बमोजिम समायोजन गर्न सक्ने ।

३.    अन्तर तह कर्मचारी सरुवा

४.    संघले कर्मचारी भर्ना लगायत विषयमा प्रदेश लोकसभालाई मापदण्ड प्रदान गर्ने

५.    स्थानीय तहको कर्मचारी तथा कार्यालय व्यवस्थापन सम्बन्धी विषय प्रदेश कानून बमोजिम हुने ।

 

वित्तीय अन्तर सम्बन्ध

१.    खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा संघले प्रदेश र स्थानीय तहलाई तथा प्रदेशले मातहतका स्थानीय तहलाई वित्तीय समानीकरण तथा सशर्त अनुदान प्रदान गर्ने ।

२.    वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहले समपुरक अनुदान र अन्य विशेष अनुदान प्राप्त गर्ने 

३.    संघले राजस्वको क्षेत्रभित्र प्रदेशलाई समेत समेटेर कानून निर्माण गर्ने ।

४.    संघ, प्रदेश र स्थानीय तहमा अन्तर सरकार वित्त व्यवस्थापनका विषयमा परामर्श तथा समन्वयका लागि अन्तर सरकारी वित्त परिषद् रहने ।

५.    राज्यको आन्तरिक राजस्व (मु.अ.क तथा अन्त शुल्क) तथा रोयल्टी रकम बाँडफाँड

६.    प्राकृतिक स्रोतको प्रयोग तथा विकासबाट प्राप्त प्रतिफलको न्यायोचित वितरण

 

विकास तथा सेवा प्रवाहसम्बन्धी

१.    स्थानीय तहले सम्पादन गर्ने कार्यक्रम तथा सेवाप्रवाहका विषयमा संघ तथा प्रदेशले नीति, मापदण्ड तथा कानून उपलब्ध गराउने

२.    संघले प्रदेश र स्थानीय तहलाई प्रविधिको विकास तथा अनुसन्धानका लागि प्रविधि हस्तान्तरण तथा प्रशिक्षणको व्यवस्था गर्ने । 

३.    स्थानीय तहहरुले आपसी समन्वयमा साझा कार्यक्रम तथा योजना संचालन गर्न सक्ने ।

४.    संघले प्रदेश तथा स्थानीय तहहरुलाई विकासका साझेदारसँग समन्वय गरी विकास निर्माणका कार्य तथा योजना संचालनका लागि समन्वय गर्न सक्ने । 

 

प्रतिवेदन तथा सूचना आदान प्रदान सम्बन्धी

१.    स्थानीय तहले आफ्नो आय व्ययका सम्बन्धमा प्रत्येक ४ महिनामा प्रतिवेदन तयार पारी अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रालयमा पठाउने ।

२.    संघले स्थानीय तह तथा प्रदेशको समेत आर्थिक विवरण संकलन गरी प्रत्येक वर्षको पुस महिनाभित्र एकिकृत आर्थिक विवरण प्रतिवेदन प्रकाशन गर्नुपर्ने ।

३.    आवश्यकता अनुसारको सूचनाहरु एक आपसमा आदानप्रदान गर्नुपर्ने ।

(  संघीय इकाईबीचको अन्तरसम्बन्धमा देखिएका समस्या र समाधानका उपायबारे पढ्न यहाँ क्लीक गर्नुहोस्)