तपाईं कुनै सामाजिक कार्य अथवा परियोजना संचालन गर्ने सोचमा हुनुहुन्छ, तर आर्थिक अभावका कारण त्यसलाई थाँती राख्नुभएको छ ?
त्यसो हो भने आर्थिक संकलनका लागि निर्माण भएका विभिन्न ‘क्राउड फन्डिङ वेबसाइट’ तपाईंका लागि सहयोगी हुन सक्छन् ।यस्ता वेबसाइटहरुबाट विश्वका धेरै देशहरुले विभिन्न उद्देश्यमा आर्थिक संकलन गरेका उदाहरणहरु छन् । प्राकृतिक प्रकोप, नागरिक पत्रकारिता, कला संस्कृतिको संरक्षण, राजनीतिक अभियान, चलचित्र तथा सफ्टवेयर निर्माण, वैज्ञानिक खोज लगायतका गैरनाफामुखी परियोजनाका लागि आर्थिक संकलन गर्न ‘क्राउड फन्डिङ साइट’ निकै उपयोगी हुन सक्छन् ।
नेपाली चलचित्र हाइवेले क्राउड फन्डिङ साइटकै माध्यमबाट आर्थिक संकलन गरेको थियो भने काठमाडौ इन्टरनेशनल आर्ट फेस्टिभल आयोजकले पनि क्राउड फन्डिङ साइटमा अभियान चलाएको थियो ।
के हो त क्राउड फन्डिङ साइट ?
गैरनाफामुखी उद्देश्य लिएका परियोजनालाई क्राउड फन्डिङ साइटले आर्थिक संकलनका लागि अनलाइन अभियान चलाउने गर्छ । यी साइटले आर्थिक संकलनका लागि छुट्टै पेज निर्माण गर्छ र त्यही पेजको आधारमा विश्वव्यापी सञ्जाल फैलाउँछ ।
विभिन्न क्राउडफन्डिङ साइटका आआफ्नै विशेषता हुन्छन् । केही साइटले सहयोग संकलनका लागि गरिने अभियानका लागि आफै पेज बनाइदिने गर्छ भने केही साइटमा परियोजनाकर्ता आफैंले आफ्नो उद्धेश्यका बारेमा उल्लेख गरी पेज बनाएपछि अभियान सञ्चालन गर्न सकिन्छ ।
क्राउडफन्डिङ साइटजस्तै kickstarter कलासँग सम्बन्धि विभिन्न संघसंस्थाले कुनै प्रदर्शनी वा महोत्सव आयोजनाका लागि आर्थिक संकलन गर्न बढी प्रयोग गर्दै आएका छन् । यस्तै CauseVox, EventBrite, indiegogo जस्ता क्राउड फन्डिङ साइटमा पनि बिभिन्न उद्धेश्यका लागि आर्थिक अभियान चलाउन सकिन्छ ।
यी साइट आर्थिक संकलनका लागि सहयोगी सिद्ध हुन सक्छन् । तर तपार्इंले सहयोगका लागि अपील गर्न सुरु गरिएको परियोजनाको उद्देश्य भने आकर्षक हुनु जरुरी छ । विश्वभरका मानिसले तपाईंको अभियानको उद्देश्य हेरेर नै सहयोग दिने वा नदिने भन्ने निर्णय गर्ने हुँदा यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
कसरी चयन गर्ने यस्ता वेबसाइट ?
क्राउड फन्डिङ साइटमा आफ्नो अभियान चलाउने हो भने तपार्इंले विभिन्न साइटहरुले दिने सुविधा, त्यसका विशेषता, लगानी तथा अरु फाइदाका बारेमा पहिले जानकारी लिनुपर्ने हुन्छ । तपाईंले अभियान संचालनका लागि चयन गरेको साइटले तपाईंको अभियानलाई कसरी प्रस्तुत गर्छ रु आर्थिक संकलनका लागि बनाइने पेज कस्तो देखिन्छ रु त्यो दाताहरुलाई आकर्षित गर्न सक्षम छ रु त्यसले तपाईको उद्धेश्य पूरा गर्न सक्ला रु यसबारे विचार गर्नु जरुरी हुन्छ ।
अभियान संचालनका लागि साइटले कसरी सामाजिक सञ्जाल बिस्तार र बजारीकरण गर्छ, साथै कुनकुन माध्यम प्रयोग गर्छन् र यसको पहुँच कति छ भन्ने पनि जानकारी राख्नुपर्छ । यस्तै तपार्इंले छनौट गर्नुभएको साइटमा आफ्नो पेज बनाउन कतिको सजिलो छ अनि त्यसका लागि केही प्राविधिक ज्ञानको खाँचो पनि छ की ?
त्यसबारे पनि विचार गर्नुहोस् । तपाईंलाई सहयोग गर्न चाहनेले कसरी वेबसाइटमा कसरी सहयोग गर्न सक्छन् अथवा आर्थिक सहयोग दिने तरीकाहरु के के छन् रु तपाईंले छनोट गरेको साइटले तपार्इंलाई संकलित रकम कसरी भुक्तानी गर्छ भन्ने कुरा पनि थाहा हुनु जरुरी छ ।
तपाईंको अभियान चलाइदिएबापत यस्ता साइटले केही शुल्क पनि लिन्छन् । प्रायःजसोले अभियानका क्रममा संकलन भएको कुल रकमको न्यूनतम ५ प्रतिशत रकम सेवा शुल्कबाट लिने गर्छन् । तर सबैमा यो लागु नहुन पनि सक्छ ।
जति प्रचार, त्यति फाइदा
अभियानका लागि आकर्षण पेज बनाउनुहोस्, जसले तपार्इंको परियोजनामा लगानी गर्न मनदेखि नै उत्साह जगाओस् । तपार्इंले यसका लागि फोटो, भिडियो र संभव भएसम्म परियोजनाका बारेमा लेखिएका लेखहरु राख्नुहोस् । तपार्इंले बनाउने पेजले परियोजनाको उद्देश्य के हो, यो कसरी संचालन हुन्छ, सहयोगबापत संकलित रकम कसरी प्रयोग गरिन्छ र यसले के फाइदा पुग्छ भन्ने जिज्ञासा मेटाउन सक्नुपर्छ ।
तपाईंले अभियान सफल बनाउन आफैं पनि पहल थाल्नुस् । यसका लागि तपार्इंले आफ्नै सामाजिक संजाल पनि प्रयोग गर्न सक्नुहुन्छ । आफन्त, साथी, सहकर्मी सबैलाई यसका बारेमा भन्नुहोस् र समाजिक सञ्जाल बढाउनुहोस् । यसका लागि फेसबुक, ट्वीटर, युट्युब लगायतका सामाजिक सञ्जालमा अभियानका बारेमा प्रचार गर्नुहोस् ।
याद गर्नुहोस् तपाईंले आफ्नो अभियानका बारेमा जति धेरै प्रचार गर्नुहुन्छ त्यति नै आर्थिक संकलनको उद्देश्य पूरा हुन सक्छ । त्यसैले तपाईंको परियोजनाबारेमा धेरैभन्दा धेरैलाई जानकारी दिनु आवश्यक हुन्छ ।

No comments:
Post a Comment